श्रमिक आन्दोलनको गति जबजमा आधारित हुने: जिफन्ट (घोषणापत्र सहित)
काठमाडौँ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले नयाँ श्रमिक आन्दोलनको घोषणा पत्र सार्वजनिक गरेको छ । जिफन्ट मुख्यालय पुतली सडकमा मङ्गलवार पत्रकार सम्मेलन गर्दै जिफन्टले जनताको बहुदलीय जनवाद (जबज) लाई वैचारिक आधार मानी श्रमिक आन्दोलनलाई नयाँ गति दिने घोषणा गरेको हो ।
मे दिवसको सन्दर्भमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले घोषणा पत्र सार्वजनिक गर्दै भन्नुभयो " ट्रेड युनियन आन्दोलनलाई गति दिनको लागि जिफन्टले जनताको बहुदलीय जनवाद, उत्पादक शक्तिको विकास, प्रविधिमैत्री श्रमिक आन्दोलन, राष्ट्रिय समृद्धि र श्रमिक हित सहितको एकतालाई वैचारिक आधारको रूपमा लिएको छ ।"
९ वटा बुँदामा वर्गीकरण गरिएको घोषणा पत्रमा जिफन्टले अबको आन्दोलन श्रमिकको पारिश्रमिकमा मात्र सीमित नहुने बताएको छ । सीप क्रान्तिको अवधारणालाई अ घिसार्दै कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, फिनटेक र हरित रोजगारीसम्बन्धी तालिम आयोजना गर्ने जिफन्टले घोषणा गरेको छ ।
नेकपा (एमाले) को जन वर्गीय सङ्गठन जिफन्टले युवापुस्तालाई आकर्षित गर्ने रणनीतिलाई घोषणा पत्र मार्फत अभिव्यक्त गरेको छ ।
भनिएको छ " ट्रेड युनियन केवल नाराबाजी मात्रै होइन, यो पेसागत उन्नति, कानुनी संरक्षण, सीप विकास, कार्यस्थलमा सम्मान र सामाजिक नेतृत्वको विद्यालय हो ।"
घोषणापत्र वाचन गर्दै अध्यक्ष विनोद श्रेष्ठले आजका युवा-विद्यार्थी भोलीका श्रमिक भएकाले युनियनका आधार तयार पार्दै युवालाई ट्रेड युनियनबारे सिक्दै सङ्गठित हुन आव्हान गर्नुभयो ।
पत्रकार सम्मेलनमा ४० वर्ष मुनिका युवाहरूलाई जिफन्ट आन्दोलनमा समेट्न युवा केन्द्रित नेतृत्व विकासको ठोस योजना निर्माण गर्न उल्लेख जानकारी गराइएको थियो ।
पूर्ण पाठ
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) मे दिवस २०२६ घोषणापत्र
यो वर्ष पनि हामी अघिल्लो वर्ष जस्तै मे दिवस, २०२६ मनाउँदैछौं । हामी श्रमिकहरुले गरेका योगदानहरुको कदर, अधिकारहरुको पक्षमा पैरवी तथा बलिदानहरुको स्मरण गर्ने दिनको रुपमा मे दिवस मनाउने गर्दछौं । यो अवसरमा नेपालको लोकतन्त्रिक तथा ट्रेड युनियन आन्दोलनमा सहादत प्राप्त गर्नु हुने सहीद प्रति श्रद्धाञ्जली अर्पण गर्दछौं, सामाजिक न्यायको लागि संघर्षरत स्वदेश तथा विदेशमा कृयाशिल सम्पूर्ण श्रमिकहरुलाई शुभकामना व्यक्त गर्दछौं । त्यसैगरी आज अप्रिल २८ मा मनाइने अन्तर्राष्टिय श्रमिक स्मृति दिवसको उपलक्ष्यमा रोजगारीको दौरानमा दुर्घटना तथा रोगका कारण निधन भएका सम्पूर्ण श्रमिकहरुलाई भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछौं ।
यो वर्षको मे दिवसमा जिफन्टले "कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि; प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि !'' नाराको साथ मुलुक भरी र प्रवासमा समेत कार्यक्रमहरु आयोजना गरेकोछ ।
यहि वर्ष भाद्र २३ गते नवयुवाहरुद्वारा आव्हान गरिएको आन्दोलन र त्यसपछि देशव्यापी रुपमा घटेका हिंशा, तोडफोड आगजनीका घटनाहरुलाई आधार बनाएर संसद र सरकार विघटन गरिएको थियो । त्यसपछि गठित अन्तरिम सरकारद्वारा
फाल्गुन २१ गते गरिएको निर्वाचनमा रा स्व पा ले वहुमत प्राप्त गरी सरकार गठन गरेको छ। यी घटनाहरु र त्यसले श्रम क्षेत्रमा परेका असरहरुको गम्भीरतापूर्वक विश्लेषण गर्दैं जिफन्टले प्रतिकृया जनाएको छ। यो नव निर्वाचित लोकपृयतावादी तथा दक्षिणपन्थी अवसरवादी सरकारले संविधान र कानुन प्रदत्त ट्रेड युनियन अधिकार र संरचनाहरुलाई संकुचित गर्ने प्रयत्न गरिरहेकोछ। हामी सबैलाई थाहा छ, नेपालले आइएलओको पक्ष राष्ट्रको हैसियतले अभिसन्धी (९८) अनुमोदन गरेकोछ, जस अन्तर्गत श्रमिकलाई संगठनमा आवद्ध भए वापत भेदभावबाट संरक्षण र सामूहिक सौदावाजीको अधिकार सुनिश्चित गरेकोछ। यी अधिकारहरुलाई नेपालको संविधानको धारा ३४ले मौलिक हकको रुपमा सूचिबद्ध गर्दैं आवश्यक कानुनहरुद्वारा व्यवस्थित गरेकोछ।
यो वर्षको मे दिवस मार्फत नेपाली श्रमिक आन्दोलनले आर्जन गरेका उपलव्धीहरुको जगेर्ना गर्न र बदलिएको राजनीतिक तथा आर्थिक – सामाजिक परिवेशमा आफ्ना लक्ष्यहरु हासिल गर्न अझ सशक्त भएर अगाडी बढ्नु आवश्यक छ। नेपाली श्रम संसारको आजको सन्दर्भमा गतिशिल एवम् सशक्त आन्दोलनको विकास गर्नुपर्ने आवश्यकता अझ बढ्दो छ। यस परिवेशलाई मध्यनजर गरी यो वर्ष हामी निम्न बमोजिम अघि बढ्नेछौं।
नेपालको श्रमिक आन्दोलनले आठ दशक लामो संघर्षमार्फत मजदुरका आधारभूत अधिकार, संगठन स्वतन्त्रता, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र सम्मानजनक कामका सवालमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। तर विश्व अर्थतन्त्र, प्रविधि, उत्पादन प्रणाली र श्रम बजार तीव्र रूपमा बदलिएको वर्तमान युगमा ट्रेड युनियन आन्दोलनले पनि आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता छ।
अबको प्रश्न केवल तलब वृद्धि मात्र होइन; अबको प्रश्न दक्षता, डिजिटल रूपान्तरण, उत्पादनशीलता, सामाजिक सुरक्षा, नयाँ रोजगारी, राष्टिय उद्योग संरक्षण र समावेशी समृद्धि हो।
आम श्रमिक, कर्मचारी, शिक्षक, बैंककर्मी, स्वास्थ्यकर्मी, युवा फ्रि लान्सर, प्रवासी श्रमिकका परिवार लगायत सबैलाई समेट्ने आधुनिक श्रम एजेन्डा युनियन आन्दोलनको एजेन्डा बनाउनुपर्दछ।
यस सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले यो वर्ष निम्न बमोजिम गरिनेछ।
१. ट्रेड युनियन आन्दोलनलाई गति दिनको लागि जिफन्टले जनताको बहुदलीय जनवाद, उत्पादक शक्तिको विकास, प्रविधिमैत्री श्रमिक आन्दोलन, राष्टिय समृद्धि र श्रमिक हित सहितको एकतालाई वैचारिक आधारको रुपमा लिएकोछ।
२. जिफन्टले नेपाली ट्रेड युनियन आन्दोलनले वर्तमान अवस्थामा सामना गर्नु पर्ने चुनौतीहरू मध्ये स्वचालन र कृत्रिम बुद्धिमत्ता (एआई) श्रमको अनौपचारिकीकरण, बसाइँसराइ, बढ्दो महंगी र ज्याला स्थिरता, ट्रेड युनियन सान्दर्भिकताको अध्ययन र विश्लेषण गर्नु जरुरी ठानेकोछ।
३. यसको आधारमा जिफन्टले निम्न प्रमुख नीतिगत प्रस्तावहरु अघि सारेकोछ।
क. सम्मानजनक पारिश्रमिक: पारिश्रमिक निर्धारण जीवनयापन लागतसँग जोडिएको सूत्रका आधारमा गर्ने । पारिश्रमिक पुनरावलोकन संयन्त्र नियमित गर्ने।
ख. सर्वकालिक सामाजिक सुरक्षा: सबै प्रकृतिका काममा संलग्न श्रमिक-अस्थायी/करार/आउटसेर्स तथा गिग श्रमिकलाई समेत समेटी सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने।
ग. पारिश्रमिकसहित इन्टर्नशिप र तालिम (अपरेन्टेशिप): युवा शोषणको अन्त्य र सिक्दै कमाउने मोडेल लागू गर्ने ।
घ. सीप क्रान्ति : कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, फिनटेक र हरित रोजगारीसम्बन्धी तालिम आयोजना गर्ने।
ङ. श्रमिक–उद्योग सहकार्य: सामाजिक सम्वाद मार्फत् समस्या समाधान गर्ने। संवाद- सहकार्य- र सहअस्तित्वको फर्मुलामा उत्पादकत्व वृद्धि गर्ने । श्रम विवाद समाधानमा हडताललाई अन्तिम विकल्पका रूपमा प्रयोग गर्ने।
च. महिला श्रमिक सशक्तीकरण: समान कामको समान पारिश्रमिक; शून्य दुरूत्साहन/उत्पीडन नीति र शिशु स्याहार सहयोगको व्यवस्था गर्ने।
छ. आप्रवासी श्रमिक संरक्षण: विदेश गएका श्रमिकका परिवारको सुरक्षा र पुन:एकीकरणका लागि रोजगारी अवसर सिर्जनामा जोड दिने।
ज. अनौपचारिक क्षेत्रको संगठन: यातायात, निर्माण, घरेलु/घर आधारित श्रम र सडक व्यापार, राईडर सहितको गिग क्षेत्रलाई संगठित गर्ने जोड दिने।
झ. स्वास्थ्य र मानसिक सुरक्षा: कार्यस्थल परामर्श सेवा र दुर्घटना सुरक्षा व्यवस्था गर्ने।
ञ. रिमोट वर्क (दूरस्थ काम) अधिकार: डिजिटल कार्यसमय नियमावली र गोपनीयता मापदण्ड निर्धारणका लागि पहल गर्ने।
ट. सहकारी उद्यम मोडेल: श्रमिक सहकारी उद्योग प्रवर्द्धन गर्ने।
ठ. राष्टिय औद्योगिकीकरण: उद्योग बिना श्रमिक भविष्य सुरक्षित हुँदैन । त्यसैले औद्योगिकीकरण अभियानमा जोड दिने।
४. माथि भनिए जस्तै यथावस्थाको सङ्गठनले यो चुनौती सामना गर्ने ल्याकत राख्दैन। त्यसको लागि निम्न संगठनात्मक सुधार गरिनेछ।
क. सदस्यता डिजिटलाइजेशन: ई-सदस्यता कार्ड र तथ्यांक प्रणाली तयार गर्ने ।
ख. युवा नेतृत्व: ४० वर्षमुनि नेतृत्व विकासको ठोस योजना बनाउने।
ग. महिला प्रतिनिधित्व: प्रत्येक तहमा अनिवार्य महिला सहभागिता बढाउने।
घ. रिसर्च विंग: जिफन्ट-टुपीलाई सुदृढ गर्ने। यस मार्फत श्रम बजार विश्लेषण लगायतका काम गर्ने।
ङ. कानूनी सहायता शाखा: श्रमिकका लागि आवश्यक कानुनी सहायता उपलब्ध गराउने।
५. यसका अतिरिक्त विशेष क्षेत्रका लागि क्षेत्रगत विशेष रणनीति लागू गर्नुपर्ने हुन्छ, त्यसका लागि निम्न बमोजिम गरिनेछ।
- बैंकिङ क्षेत्र: पुन:सीप विकास कार्यक्रम र कृत्रिम बुद्धिमत्ता संक्रमण सहमतीको कार्यक्रम
- शिक्षा क्षेत्र: निजी क्षेत्रका शिक्षक-मर्यादा अभियान सञ्चालन
- स्वास्थ्य क्षेत्र: सुरक्षित कार्य समयको व्यवस्था गर्ने
- सूचना प्रविधि क्षेत्र: स्टार्टअप श्रम मापदण्ड तयार गर्ने
- निर्माण क्षेत्र: 'पहिले सुरक्षा' कार्यक्रम सञ्चालन गर्ने
- पर्यटन क्षेत्र: मौसमी श्रमिक संरक्षण कार्यक्रम सञ्चालन गर्ने
६. यसको लागि सरकारसँग निम्न माग र मुद्दाहरु सम्वोधनको लागि गतिविधि गरिनेछ।
- न्यूनतम तलबको पूर्ण कार्यान्वयन
- सामाजिक सुरक्षा कोषमा शतप्रतिशत श्रमिकको पहुँच स्थापित
- गिग श्रमिकसम्बन्धी कानुन निर्माण
- श्रम अदालत सुदृढीकरण
- सीप विकास कोष स्थापना
- युवा रोजगारी सुनिश्चितता कार्यक्रम संचालन
- शिक्षक पारिश्रमिक नियमावली तयार
- उद्योगमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड प्रवर्द्धन र स्वास्थ्यकर्मीको सुरक्षा आचारसंहिता निर्माण
- उत्पादकत्व र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्न स्वदेशी उद्योगलाई प्रोत्साहन प्याकेज व्यवस्थाको लागि कार्यक्रम
- वैदेशिक रोजगारीमा जानेका लागि सहजता (सोही दिन श्रम स्वीकृति व्यवस्था र पूर्व-प्रस्थान तालिमका डिजिटल सामग्री उपलब्ध गराउने) माग गर्दैं फर्किएका आप्रवासी श्रमिकका लागि रोजगारी प्याकेज तयार गर्ने कार्यक्रम
- आइएलओ अभिसन्धीहरु सि १८९, सि १५५, सि १९० लगायत अविलम्व अनुमोदनको लागि कार्यक्रम माग गरिनेछ।
७. हाम्रो सन्देश टकराव होइन, साझेदारी हो: संवाद- सहकार्य- र सहअस्तित्व हो। यसको लागि उद्योगी व्यवसायीसँग सामाजिक सम्झौता उत्पादकत्व सहमतीमा हस्ताक्षर गरौं, यस अनुरुप
- उद्योग चलोस्
- रोजगारी बढोस्
- श्रमिक सुरक्षित होऊन्
- नाफाको बितरण न्यायपूर्ण होस्
- वातावरण सुरक्षित र संरक्षित बनोस्
- राष्ट्र समृद्ध बनोस्
८. नयाँ पुस्तालाई आह्वान
ट्रेड युनियन केवल नाराबाजी मात्रै होइन; यो पेशागत उन्नति, कानुनी संरक्षण, सीप विकास, कार्यस्थलमा सम्मान र सामाजिक नेतृत्वको विद्यालय हो। आजका युवा-विद्यार्थी भोलीका श्रमिक हुन्; युनियनका आधार हुन् । सिकौं- सिकाऔं- संगठित होऔं !
९. निष्कर्ष
- पुरानो युगमा ट्रेड युनियनले शोषण विरुद्ध लड्यो। अब ट्रेड युनियनले रोजगारी सिर्जना, दक्षता निर्माण, सामाजिक सुरक्षा र राष्टिय समृद्धिको नेतृत्व गर्नुपछी यही हाम्रो ट्रेड युनियन आन्दोलनको नयाँ ऐतिहासिक जिम्मेवारी हो
"कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि; प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि!"
धन्यवाद !
विनोद श्रेष्ठ अध्यक्ष, जिफन्ट
मोटरसाइकल मेकानिक्स सङ्घको अध्यक्षमा राम श्रेष्ठ निर्वाचित
ललितपुर । मोटरसाइकल मेकानिसक्स संघ, नेपालको अध्यक्षमा राम श्रेष्ठ निर्वाचित भएका छन् । चैत २१ गते (शनिवार) ललिपुरको पाटनाम सम्पन्न दोस्रो साधारण
श्रमाधान रोजगार मेला आज समापन हुँदै : १० हजारभन्दा धेरै युवाको आवेदन
काठमाण्डौ । सरकारले गएको १७ गतेदेखि शुरु गरेको श्रमाधान रोजगार मेला आज समापन हुँदैछ । कोशी प्रदेशको विराटनगरबाट शुरु भएको मेला आज बाग्मती प्रदेशको
काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दै
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गर्दैछ । सिप मेलाबाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग
.jpeg)




प्रतिकृया दिनुहोस