• शुक्रबार ४-१५-२०८३/Friday 07-31-2026

सिद्धान्तकार अधिकारीको स्वर्ण जन्मोत्सव सम्पन्न

 

काठमाडौँ । सिद्धान्तकार प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव समारोह शुक्रवार विभिन्न कार्यक्रमका साथ मनाइएको छ । 'प्राध्यापक निर्मलमणि अधिकारी स्वर्ण जन्मोत्सव मूल समारोह समिति' ले विभिन्न प्राज्ञिक तथा मौलिक सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी वैशाख ३१ र जेठ १ गते  उहाँको स्वर्ण जन्मोत्सव मनाएको हो ।

 

विक्रम संवत् २०३३ सालमा तनहुँको छाङमा जन्मनु भएका डाक्टर अधिकारी जेठ १ गते ५० वर्ष पुरा गरी ५१ औँ वर्षमा प्रवेश गरेको अवसर उहाँको स्वर्ण जन्मोत्सव मनाएको आयोजक समितिका संयोजक अरुण पौडेलले जानकारी दिनु भयो ।

 

प्राध्यापक अधिकारी हाल काठमाडौँ विश्वविद्यालय अन्तरगत भाषा तथा आमसञ्चार विभागका प्रमुख हुनुहुन्छ ।

 

प्रसिद्ध संस्कृतिविद् प्राध्यापक डाक्टर वीणा पौड्याललाई मुख्य अतिथि बनाएर आयोजकले काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा दोस्रो दिनको कार्यक्रम गरेका थिए ।

 

स्वर्ण जन्मोत्सवको दीप प्रज्वलित गर्दै प्रमुख अतिथि प्राध्यापक पौड्यालले निर्मलमणि अधिकारीले ५० वर्षको उमेरमा असाधारण प्रगति र योगदान गरेकोमा उहाँको समर्पण र विनम्रताको प्रशंसा गर्नुभयो ।

आनन्द प्रसाद घिमिरे र बटुकहरूको  वैदिक स्वस्ति वाचन सहित सुरु गरिएको स्वर्ण जन्मोत्सव समारोह नेपाली मौलिक परम्परामा आधारित भएको आयोजकले दाबी गरे ।

 

कार्यक्रममा बौद्ध वचन अनुवाद समितिका अध्यक्ष आचार्य टिका शेर्पाले बौद्ध मङ्गल पाठ वाचन गर्नुभयो । त्यसै गरी, किरात सांस्कृतिक अध्येता एवम् विद्यावारिधि शोधार्थी मदन राईले किरात परम्परा अनुसार शुभ वचन प्रस्तुत गर्नु भएको थियो ।

 

सोही अवसरमा श्रीयन्त्र विद्यालयका छात्र-छात्रहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

 

 

समारोहमा त्रिचन्द्र क्याम्पस नेपाली विभागकी प्रमुख उषा अधिकारी, कान्तिपुर इन्जिनियरिङ कलेजका विभागीय प्रमुख प्राध्यापक महदत्त पाण्डेले सिद्धान्तकार अधिकारीले शिक्षा र नेपाली वाङ्मयको विकासमा पुराउनु भएको योगदानको चर्चा गर्नुहुँदै उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभयो ।

 

त्यसै गरी, राजनीतिक विश्लेषक तथा मौलिक संस्कृतिका लागि विश्व अभियन्ता बुद्ध छिरिङ मोक्तान, संस्कृतिविद् बमकुमारी बुढा, त्रिचन्द्र क्याम्पस, मनोविज्ञान तथा दर्शनशास्त्र विभागका डाक्टर गोविन्द शरण उपाध्याय, नेपाल संस्कृत विश्व विद्यालयका प्राध्यापक डाक्टर माधवप्रसाद पाण्डेले स्वर्ण जन्मोत्सवका अवसरमा प्राध्यापक निर्मलमणि अधिकारीलाई शुभकामना र बधाई ज्ञापन गर्दै उहाँको प्राज्ञिक, खोज, अनुसन्धान र उहाँको नेतृत्वमा भइरहेको विपश्चिमीकरण अभियानको प्रशंसा गर्नुभयो ।

 

त्यसै गरि, अधिकारीलाई स्वर्ण जन्मोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका सह प्राध्यापक  तथा तन्त्रशास्त्राका विज्ञ डाक्टर माधवप्रसाद लामिछानेले सिद्धान्तकार निर्मलमणि अधिकारीले जगदम्बाको आदिदैविक, आदि भौतिक, अध्यात्मिक तीनै आयामको साधना निरन्तर गर्दै आउनु भएको चर्चा गर्नुभयो ।

“उहाँ भित्रको शक्ति उर्जा जागेर भैरव जाग्रीत भई आफू, समुदाय, राष्ट्र साथै विश्वलाईनै कल्याण गर्ने सामार्थ्य प्राप्त हुँदै गएको छ ।” सह प्राध्यापक डाक्टर लामिछाने दावी गर्नुभयो ।

 

जन्मोत्सव समारोहमा उपस्थित सिद्धान्तकार अधिकारीका आमा रमादेवी अधिकारीले छोराले नेपाली समाजमा पुराएको योगदानप्रति खुसी व्यक्त गर्नुभयो ।

 

समारोहमा उहाँकी जीवनसङ्गिनी उर्मिला खनाल, छोरीहरू सुप्रिया यशस्विनी अधिकारी र सुयशा प्रियदर्शिनी अधिकारी लगायत उहाँका शुभचिन्तकहरू सहभागिता रहेको थियो ।

 

 

स्वर्ण जन्मोतसबै अवसरमा प्राध्यापक अधिकारीद्वारा लिखित 'छोरी आऊ एउटा पुस्तक पढौं" शीर्षकको कविताको लोकार्पण गरिएको छ ।

 

सञ्चारको 'साधारणीकरण मोडेल' का प्रतिपादक प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव मनाउन भाषा तथा संस्कृतिविद् अरुण पौडेलको संयोजकत्वमा समाजका विभिन्न तह र तप्काका व्यक्तिहरू सम्मिलित ५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो ।

 

समितिमा विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका शोधार्थीहरू समेत सहभागी छन् ।

 

समारोहमा सिद्धान्तकार निर्मलमणि अधिकारीको जीवन, दर्शन र उहाँले पत्रकारिता, वाङ्मय विकास, संस्कृति र नवप्रवर्तनमा पुराउनु भएको योगदान समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो । सो वृत्तचित्र चलचित्र अध्येता दिपा बस्नेतको लेखन तथा निर्देशनमा तयार पारिएको हो ।

 

करिब ५ घण्टा लामो समारोहमा काठमाडौँ विश्व विद्यालयमा विद्यावारिधि गरिरहेका शोधार्थीहरू केदारनाथ गौतम, उपेन्द्र खड्का, प्रदिप लामिछाने, दीपा बस्नेत, मदन राई, प्रकाश न्यौपाने, सुशील गौतम र तृष्णा आचार्यले सिद्धान्तकार अधिकारीले प्रतिपादन गर्नुभएको सिद्धान्त, सञ्चार पद्दति, सिकाई दर्शन र अधिकारीको नेतृत्वमा अघि बढी रहेको विपश्चिमीकरण र प्राज्ञिक रूपान्तरण माथि गरिएको अनुसन्धान पत्रहरू प्रस्तुत गर्नुभएको थियो ।

 

त्यसै गरी, स्वर्ण जन्मोत्सव मूल समारोहका सचिव तथा त्रिभुवन विश्वविद्यालय आमसञ्चार विभागकी उपप्राध्यापक सहिष्णु पौड्याल, विद्यावारिधि शोधार्थी कविता श्रेष्ठ, सच्चिदानन्द घिमिरे लगायतले प्राज्ञिक व्यक्तिको जन्मोत्सवले नेपालको मौलिक जागरणमा थप योगदान पुग्ने धारणा राख्नु भयो ।

 

"यो केवल एक व्यक्तिको जन्मोत्सव होइन, यो नेपाली सञ्चार चिन्तनको महाउत्सव हो ।" समारोहका वक्ताहरूले भने ।

 

स्वर्ण जन्मोत्सव मूल समारोह समितिको २ दिने कार्यक्रम अन्तरगत जेठ ३१ गते अन्तर्राष्ट्रिय वेबिनार आयोजना गरिएको थियो ।

 

 वेबिनार कार्यक्रममा संयोजक एवम् काठमाडौँ विश्वविद्यालयकी विद्यावारिधि शोधार्थी तृष्णा आचार्यका अनुसार अन्तराष्ट्रियस्तरका विभिन्न विश्वविद्यालयमा आबद्ध अध्येताहरूबाट कुल २३ वटा अनुसन्धानपत्रहरु वेबिनारमा प्रस्तुत गरिएका थिए ।

 

"प्राज्ञिक व्यक्तिको जन्मोत्सवका कारण हामीले विभिन्न विषयमा विश्व दृष्टिकोण प्राप्त गर्न सफल भयौं" संयोजक आचार्यले भन्नुभयो ।  

 

समकालीन सहकर्मीहरु, शिक्षाविद्, अभियन्ता र देशविदेशका शुभेच्छुक र आफ्ना शिक्षार्थिहरूलाई धन्यवाद ज्ञापन गर्दै सिद्धान्तकार अधिकारीले धन्यवाद ज्ञापन गर्नुभयो ।

"काठमाडौँमा भव्य समारोह सहित मेरो स्वर्ण जन्मोत्सव मनाइएपछि झन् सुखद् अनुभव गरिरहेको छु र जिम्मेवारी पनि झन् थपिएको महसुस समेत भएको छ ।" उहाँले भन्नुभयो । 

 

अधिकारीका ६० भन्दा बढी पुस्तक र १०० भन्दा बढी अनुसन्धान लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । उहाँ नेपालमा पत्रकारिता तथा आमसञ्चार विषयका पहिलो प्राध्यापक र विद्यावारिधीउत्तर (पोष्ट डक्टरल) गर्ने पहिलो नेपाली भएको बताइएको छ ।  

प्रतिकृया दिनुहोस

विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त सरकारको गर्ने

काठमाण्डाै – सरकारले विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रहेका

सञ्चारविद् निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव मनाउन समिति गठन

काठमाडौँ । ख्यातिप्राप्त सञ्चारविद् एवम् 'साधारणीकरण मोडेल' का प्रतिपादक प्राध्यापक डाक्टर निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव

उपसभामुखको चुनाव आज हुँदै, २६ वर्षीया रुबी ठाकुर निर्वाचित हुने निश्चित

काठमाण्डौ- प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज चुनाव हुँदैछ ।   संसद भवनमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनको प्रक्रिया